सुर्खेत जिल्ला अदालतद्वारा ७२ प्रतिशत मुद्दा फछ्र्योट

  असार ३१, २०७९

कर्णाली, असार ३१ : सुर्खेत जिल्ला अदालतले चालू आर्थिक वर्ष २०७८/७९ मा एक हजार ७४० अर्थात् ७२.२७ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । अदालतले कोभिड–१९ महामारीकाबीच वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्न सफल भएको जनाएको छ । अदालतले चालू आवमा ७० प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो ।

अदालतले जिम्मेवारी सरी आएका ७१३ थान र नयाँ दर्तातर्फ एक हजार २७ गरी जम्मा एक हजार ७४० थान मुद्दा फछ्र्योट गरेको हो । अदालतद्वारा आज आयोजित पत्रकार सम्मेलनमा से्रस्तेदार ठाकुरप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दर्ता हालसम्मकै बढी भएको बताउनुभयो । उहाँका अनुसार अदालतले मुद्दालाई सरल, सामान्य र विशेष मार्गबाट फछ्र्योट गर्दै आएको छ । सरल मार्गमा पर्ने मुद्दा छ महिना, सामान्य मार्गमा पर्ने मुद्दा एक वर्ष, विशेष मार्गमा पर्ने मुद्दालाई १८ महिनाभित्र फैसला गर्दै आएको छ ।

चालू आवमा नयाँ र पुराना गरी दुई हजार ४०९ मुद्दामध्ये एक हजार ७४० थान मुद्दा फछ्र्योट भएका हुन् । स्रेस्तेदार पौडेलले अदालतमा तीन जना न्यायाधिशको दरबन्दी भए पनि यो वर्ष दुई न्यायाधिशले मात्र मुद्दा हेरेको जानकारी दिनुभयो । न्यायाधिश डा राजेन्द्रकुमार आचार्यले अदालतमा मुद्दाको भार धेरै रहे पनि आफूहरू दुई महिना स्थानीय तह निर्वाचनको काममा खटिएको बताउनुभयो ।

“मुद्दाको फैसलाका साथै थुनछेक आदेश, प्रशासनिक आदेश, विवाहदर्ता अधिकारी भएर थुपै्र काम गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “मुद्दाको सङ्ख्या अधिक छ, दरबन्दीअनुसार न्यायाधिश नहुँदा मुद्दाको कार्यबोझ पनि बढेको छ ।” अर्का न्यायाधिश मनोज श्रेष्ठले वादीप्रतिवादी पक्षले सात महिनासम्म पेशी सारेर समय टार्ने प्रवृत्ति देखिएको बताउनुभयो । जिल्ला अदालतमा लागू औषध सेवन तथा कारोबार सम्बन्धविच्छेद, जबरजस्ती करणीका मुद्दा बढी पर्ने गरेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय