‘हामी सक्छौँ कुहिने र नकुहिने फोहर छुट्याउन’

  असार ३२, २०७९

काठमाडौँ, असार ३२ : वाग्मती सफाइ महाअभियानका अभियानकर्मीहरू अब ‘हामी सक्छौँ कुहिने र नकुहिने फोहर छुट्याउन’ भन्ने नारासहित सफाइमा जुट्न थालेका छन् ।

वाग्मती सफाइ महाअभियानको ४७९औँ हप्तामा वाग्मती मनोहरा दोभानमा गरिएको सफाइमा अभियानकर्मीले फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न जनचेतनामूलक अभियानसमेत चलाएका छन् । वडास्तरीय नागरिक समाज सञ्जालको अगुवाइमा टोलि नं एकमा मोहन पराजुली, विनोद खरेल, वाग्मती अभियानकर्मी नरेश श्रेष्ठ, विदुर उप्रेती अन्य अभियानकर्मीले शृङ्खला गल्ली र भित्रका गल्लीको घर घरमा कुहिने एवं नकुहिने फोहर छुट्टाछुट्टै व्यवस्थापन गर्न अपिल गर्नुभएको थियो ।

टोली नं दुईमा नागरिक समाजका मोहन थापा र चेतबहादुर थापा वाग्मती अभियानकर्मी प्रिया लामिछाने, अन्य अभियानकर्मीले दोभान क्षेत्रको घर घरमा फोहर वर्गीकरण गर्न अपील गर्नुभएको थियो । टोली न तीन नागरिक समाजका इन्दु सापकोटा, सुनिता शिवाकोटी, वाग्मती अभियानकर्मी चित्र सुनुवार अन्य अभियानकर्मी शान्ति टोलका घर घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राखी व्यवस्थापन गर्न अपिल गर्नुभएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

तीन समूहमा जनचेतनामूलक अभियानसहित वाग्मती नदी र बाहिर गरी दुई ठाउँमा सफाइ गरेर दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकामा फोहर वर्गीकरण नगर्दा व्यवस्थापनमा समस्या भएकाले महाअभियानले जनचेतना जगाउन सुरु गरेको हो ।

सफाइमा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, आयोजना प्रमुख नवराज प्याकुरेल, वडा सदस्य टेकराज अधिकारी, चक्रपथ उत्तरी खण्ड सरसफाइ अभियानका संयोजक लोकबहादु टन्डन, लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध, लियो क्लब अफ काठमाडौँ लर्ड बुद्ध, वाग्मती फोहर उन्मुलन उपभोक्ता समाज, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, शृङ्खला टोल विकास समाजका सल्लाहकार झनकराज ढुङ्गेललगायतको सक्रियता थियो ।

वाग्मती सफाइ महाअभियानका अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मदिनको उपलक्ष्यमा आर्ट अफ लिभिङको बगैँचामा एभोकाडोको विरुवा वृक्षरोपण गरी उहाँको सुस्वास्थ्य, दीर्घायु एवं समृद्धिको कामना गरिएको थियो । सफाइ अभियानकर्मीको जन्मोत्सवका अवसरमा नदी किनारमा वृक्षरोपण गर्ने गरिएको छ ।

अर्को हप्ता शनिबार साउन ७ गते बानेश्वर बहुमुखी क्याम्पस अघिको वाग्मती पुलमा सफाइ गरिने जनाइएको छ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ ।

जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेकोे छ । सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ ।

यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।

नागरिकस्तरबाट स्वयंसेवी रुपमा सुरु भएको साप्ताहिक सफाइ अभियान जारी रहेपनि स्थानीय सरकारले फोहर व्यवस्थापन नगर्दा समस्या भएको स्थानीयवासीको गुनासो छ । राजधानीका विभिन्न स्थानमा अहिले पनि फोहरको थुप्रो छ । फोहर व्यवस्थापनमा स्थानीय सरकार असफल हुँदा हैजाजस्ता रोग फैलिएको छ । तीन तहका सरकार भए पनि कुनै पनि सरकारले फोहर व्यवस्थापनमा ध्यान नदिएको गुनासो अभियानकर्मीको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय