पाटापुरलाई जलवायु अनुकूलताको नमूना गाउँ बनाईँदै

  साउन ०१, २०७९

मङ्गलबारे, साउन १ : जिल्लाको रोङ गाउँपालिकालाई जलवायु अनुकूलताको नमूना गाउँ बनाउन काम सुरुआत गरिएको छ । विशेष गरी रोङ–६ को पाटापुरलाई नमूना गाउँ बनाउन विदेशी संस्थासँग सम्झौता भई काम थालनी गरिएको हो ।

एक वर्षसम्म सञ्चालन हुने सो कार्यक्रमअनुसार स्थानीयवासीसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने छ । सम्झौताको कार्ययोजनाअनुसार जलवायु अनुकूलन गाउँ निमार्ण गर्न कृषक समूह गठन र दर्ता गर्ने तथा क्षमता अभिवृद्धिका लागि विभिन्न प्रविधि हस्तान्तरण गरिने छ ।

त्यस्तै कृषिमा यान्त्रिकीकरण र उत्पादनमा वृद्धि, सिँचाइ सुविधा, बजारीकरण, स्थानीयस्तरमा खानेपानी स्रोतको संरक्षण गुणस्तर मापन तथा सचेतना अभिवृद्धि सुधारिएको चुल्हो प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)ले बताउनुभयो । उहाँका अनुसार एक वर्षका लागि सञ्चालिन हुन लागेको परियोजना कार्यप्रगतिका आधारमा योजना विस्तार र थप गर्न सकिने भएको छ । रोङ–६ मा अवस्थित पाटापुर छिमेकी देश भारत र छिमेकी जिल्ला झापासँग जोडिएको एउटा विकट र पछाडि परेको गाउँका रुपमा लिइएको छ ।

जलवायु परिवर्तनका कारण विश्वमा अनेकन प्रभाव परिरहेको बेलामा जलवायुको अनुकूलताको अवस्थामा स्थानीय नागरिकको आर्थिक र सामाजिक अवस्था सुधार गर्न कार्यक्रम अगाडि बढाएको हो । जसका लागि नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी)को समन्यवयमा क्यानडाको भारतीय उच्च आयोग स्थानीय विकास कोषको सहयोगमा कार्यक्रम अगाडि सञ्चालन हुने छ ।

चालु आर्थिक वर्षमा वैदेशिक सहयोगमा कार्यक्रम सञ्चालन गर्न ५० हजार डलर खर्च गर्ने गरी गाउँपालिका र केन्द्रसगँ सम्झौता भएको हो । यस गाउँलाई नमूनाका रूपमा कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रम पूर्णरूपमा सफल भए अन्य गाउँहरूमा समेत सो कार्यक्रम विस्तार हुने जनाइएको छ । कार्यक्रम सञ्चालनपछि जलवायु परिवर्तनलाई न्यूनीकरण हुने गरी विभिन्न कार्यक्रम सञ्चालन हुने छन् । यसले स्थानीयलाई समेत प्रत्यक्ष फाइदा मिल्ने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय