सरकारले ५० करोड रूपैयाँभन्दा बढीको निर्यात गर्नेलाई ८ प्रतिशत अनुदान दिइने 

  असोज २८, २०७९

सरकारले ५० करोड रूपैयाँभन्दा बढीको निर्यात गर्नेलाई ८ प्रतिशत अनुदान दिइने व्यवस्था गरेको छ। निर्यात अनुदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ ले उक्त व्यवस्था गरेको हो।

‘कुनै उद्योगले एक आर्थिक वर्षमा आफ्नो उत्पादित वस्तु ५० करोड रूपैयाँभन्दा बढी निकासी गरेमा बढी निकासी भएको मूल्यको आधारमा ८ प्रतिशत नगद अनुदान उपलब्ध गराइने छ,’ कार्यविधिमा भनिएको छ।

कार्यविधि अनुसार मूल्य अभिवृद्धि प्रमाणीकरण गराउन चाहने निर्यातकर्ताले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र स्वःघोषणासहित तोकिएको ढाँचामा उद्योग विभागमा निवेदन दिनुपर्नेछ। यस्तो जानकारी विद्युतीय माध्यमबाट पनि दिन सकिने छ।

अनुदान प्रदान गर्नेसम्बन्धी कार्यको अनुगमन, मूल्यांकन तथा समन्वय गर्न मन्त्रालयमा एक समिति रहने छ।

झूटा विवरण पेश गरी अनुदान माग गर्ने वा प्राप्त गर्ने उद्योगलाई विभागले पाँच वर्षसम्म निर्यात अनुदानको लागि अयोग्य हुने गरी कालो सूचीमा सूचीकृत गर्नुका साथै त्यस्ता उद्योगको नाम सार्वजनिक गर्ने कार्यविधिमा उल्लेख छ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय