शिक्षासंगै उत्पादनमा महिलालाई जोड्दै सिकाई केन्द्र

  असोज २९, २०७९

तुलसीपुर असोज २९
समाज साक्षरताका लागि गठन भएको सामुदायिक सिकाई केन्द्रले महिलालाई उत्पादनका काममा समेत जोड्न थालेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११मा रहेको सिकाई केन्द्रले आत्मनिर्भर बन्नका लागि विभिन्न सीप प्रदान गर्दै उत्पादन भएका वस्तुहरुको बजारीकरण समेत गर्न थालेको छ ।
सिकाइ केन्द्रका अध्यक्ष गोमा बालान क्षेत्रीले प्रारम्भिक चरणमा १५ जना महिलाहरुलाई गमला बनाउन सिकाइएको छ । महिलाहरुले करिब ६ सय गमला निर्माण गर्नुभएको छ । अध्यक्ष क्षेत्रीले एउटा गमला बनाउनका लागि पचास रुपियाँ बराबरको कच्चा पदार्थ आवश्यक पर्दछ । एउटा गमलाको बजार मूल्य ८०देखि ९० रुपियाँसम्म रहेको छ । गाउँमै उत्पादन भएका गमला गाउँमै बिक्री वितरणको व्यवस्थापन गरिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । अध्यक्ष क्षत्रीले वडामा साक्षरता,अध्ययनका लागि स्थापना भएको सिकाई केन्द्रले उत्पादनको बाटोमा समेत अघि बढेकाले सबैको सहयोग साथ अनिवार्य भएमात्रै सफल भइने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११का वडाध्यक्ष मानबहादुर रावतले महिलाहरुले उत्पादन गरेका गमला प्रारम्भिक चरणमा प्रोत्साहनस्वरुप वडा सरकारले नै खरिद गरेर प्रत्येक वडावासीको घरमा पुष्पका साथै तरकारी खेतीका लागि उपयोगमा ल्याइने बताउनुभयो । उहाँले वडाबाट गमला खरिद गरेर वडावासीलाई कौसी खेतीको लागि प्रोत्साहन गर्ने र तरकारीमा आत्मनिर्भरताको बाटोमा लैजान थालिएको बताउनुभयो ।
गमला बनाउँदै आउनुभएकी रक्षा भण्डारीले आफूले सिकेको सीपलाई व्यवसायीकरुपमै लैजाने बताउनुभयो । उहाँले आफूले उत्पादन गरेका गमला सुरुको चरणमै वडाले नै खरिद गर्ने कुरालाई थप उत्साहित बनाएको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय