किताबी ज्ञानलाई व्यवहारमा उतार्दै युवा

  असोज ३१, २०७९

तुलसीपुर असोज ३०
पढाइ सकेपछि युवाहरुको रोजाइ वैदेशिक यात्रा रहेको छ । तुलसीपुर उपमहानगरपालिका युवाहरुले आफूले पढेको सीपलाई व्यवहारमा उर्तान थालेका छन् । कृषि विषय पढेका युवाहरुले व्यवसायीकरुपमा पुष्प व्यवसाय सुरु गरेका छन् । १८देखि २४ वर्षसम्मका सात जना युवाहरुले पुष्प व्यवसाय सुरु गरेका हुन् ।
तुलसीपुर ८मा अश्वारमा साढे पाँच कठ्ठा र वडा नम्बर दुईको भमकेमा चार कठ्ठा जग्गामा सयपत्री फूलको व्यवसाय सुरु गरेका हुन् । नेतृत्व गरिरहेका गणेश भण्डारीले युवाहरुलाई स्वदेशमै उत्पादनशील क्षेत्रमा लाग्नुपर्छ भन्ने प्रेरणा दिनका लागि व्यवसाय सुरु गरेको बताउनुभयो । करिब दुई लाखको लागतमा सयपत्री फूलको व्यवसाय सुरु गरेका युवाहरुले करिब दश लाखको पुष्पको कारोबार गर्ने लक्ष्य राखेका छन् । नेतृत्व गरिरहनुभएका युवा गणेश भण्डारीले करिब ६४ सय केजी पुष्प उत्पादन हुने बताउनुभयो । चाड पर्वलाई लक्षित गर्दै थाइल्याण्डबाट कर्मा जातको सयपत्रीको बिउ खरिद गरेर रोपेका युवा व्यवसायीहरुले बजारमा प्रति केजी छ सयमा बिक्री गर्दै आएका छन् ।
विएस्सी एजी विषय अध्ययन पूरा गरेका युवाहरुले स्टोबेरी खेतीका सुरु गर्ने योजना बनाएका छन् । युवा सञ्जाल तुलसीपुरका अध्यक्ष समेत रहेका भण्डारीले चाडपर्व र निर्वाचनलाई लक्षित राख्दै सयपत्री पुष्प खेती गरेको बताउनुभयो । खेती गर्दै आएकी बिन्दु केसीले युवाहरुलाई उत्पादनमा जोड्दै स्वदेशमै थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने दृष्टान्त प्रस्तुत गर्नका लागि कृषिजन्य उत्पादनमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो –हामीले पढेका कुरा किताबमै सीमित राख्न चाहेनौ व्यवहारमै प्रस्तुत गर्नका लागि व्यवसाय सुरु गरेका हौ । उहाँले युवाहरुलाई थप प्रोत्साहन गर्नका लागि न्यून ब्याजमा ऋण प्रदान गर्न सके व्यवसाय सुरु गर्नका लागि आवश्यक पर्ने जग्गा,मल,बिउँ, यान्त्रीक मेसिन खरिदमा सहज हुने बताउनुभयो । युवाहरुले व्यवसायबाट खर्च कटौति गरेर आम्दानीलाई मानव सेवा आश्रम र विपन्न समुदायका बालबालिकाहरुका लागि शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य राखेको युवा व्यवसायी गणेश भण्डारीले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय