सीता एयरद्वारा टरिगाउँ विमानस्थलमा उडान परीक्षण

  January 27, 2023

तुलसीपुर माघ १३
सीता एयरले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ ।दिउँसो एक बजे धावनमार्गमा उडान परीक्षण गरेको हो । उडानपछि प्रतिक्रिया दिदै विमानचालक रविन्द्र डंगोलले धावनमार्गको लम्बाई थप गर्न सके पूर्णरुपमा यात्रु राखेर सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले धावनमार्गको उत्तरतर्फबाट विमान ल्याण्ड गर्नका लागि केही घरमा राखिएका पानी ट्याङ्की हटाउन सके सहज हुने बताउनुभयो । उहाँले धावनमार्गमा चराचुरुङ्गी गतिविधि बढी देखिएकाले गतिविधि न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले धावमार्गको लम्बाई दुई सय मिटर बढाउन सके उडानमा सहज हुने बताउनुभयो । विमान धावनमार्गमा उत्तर र दक्षिण दुवैतर्फबाट ल्याण्ड गरिएको थियो ।

सीता एयरका प्रबन्धक राजेन्द्रबहादुर सिहंले विमानचालकको रिपोर्ट पछि एक हप्ताभित्रै सेवा नियमति गरिने बताउनुभयो । उहाँले हप्तामा एक दिन र यात्रुको चापको अवस्था हेरेर सेवा बढाउँदै लैजाने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उडानका क्रममा देखिएका समस्या समाधानमा तत्कालै प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले धावनमार्ग बढाउने र वरिवरि रहेका रुखबिरुवा हटाइने बताउनुभयो । उहाँले सेवा निरन्तरताका लागि जुनसुकै सहयोग गर्ने बताउनुभयो ।
विमानस्थल सञ्चालनमा अभियानमा सक्रिय तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले सरकारी र नीजी क्षेत्रको सहकार्यबाट सेवा नियमित गर्न सकिने बताउनुभयो । उहाँले सेवालाई नियमित गर्नका लागि सदैव सहयोग रहने बताउनुभयो ।
२०११ सालमा सञ्चालनमा आएको विमानस्थलमा सात सय ५० मिटर कालोपत्रे रहेको छ । हाल नेपाल वायु सेवा निगमको १९ सिट क्षमताको ट्विनअटरले साताको चार दिन आइतबार, मङ्गलबार, बिहीबार र शनिबार तुलसीपुर उडान गर्दै आएको छ । निजी विमान सञ्चालनमा आएपछि उडान संख्या बढ्ने र भाडा घट्ने अपेक्षा गरिएको छ । करिब दश करोडको लागतमा टरिगाउँमा इन्धन डिपो स्थापना गरी सञ्चालनमा ल्याइएको छ । तर, भाडा भने अहिलेसम्म घटेको छैन । हाल दाङदेखि काठमाडौंको न्यूनतम भाडा आठ हजार आठ सय १० रुपैयाँ र काठमाडौंबाट दाङको न्यूनतम नौ हजार रुपैयाँदेखि अधिकतम १२ हजार रुपैयाँभन्दा बढी भाडा तोकिएको छ ।धावन मार्ग विस्तारका लागि विस्तृव विवरण प्रतिवेदन तयारको प्रक्रियामै रहेको छ । करिब २२ सय मिटर लम्बाइको धावनमार्ग निर्माणका लागि विस्तृत विवरण प्रतिवेदन तयार पार्न थालिएको हो ।

Comments