पर्यापर्यटन प्रवर्धन गर्न घोडा सफारी

  February 24, 2023

तुलसीपुर फागुन १२
पर्यापर्यटन प्रवर्धनका लागि शान्तिपार्कमा घोडा सफारी सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७मा रहेको गणेशपुर शान्तिपार्कमा घोडा सफारी सुरु गरिएको हो । पार्कमा आउने पर्यटकहरुका लागि शान्ति पार्क व्यवस्थापन समितिले हरियाली पर्यापर्यटन प्रर्वधनका लागि सफारी सुरु गरिएको हो ।
पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीका अनुसार आन्तरिक पर्यटन प्रवर्धनका लागि घोडा सफारी सुरु गरिएको हो । भण्डारीका अनुसार तत्कालका लागि पार्क वरपर क्षेत्रमा पर्यटकहरुका लागि घोडा सफारीको व्यवस्थापन गरिएको छ भने दीर्घकालीनरुपमा शान्तिपार्कलाई केन्द्रबिन्दुमा राखेर पर्यटकीय क्षेत्र चमेरेगुफा,छिल्लीकोट,दंगीशरण राजदरबार क्षेत्र सुकौराकोटसम्म पुग्नका लागि व्यवस्थापन गरिने बताउनुभयो ।उहाँले घोडा सफारीबाट पर्यटकलाई आनन्दित तुल्याउन,वायु र ध्वनि प्रदूषण समेत नहुने बताउनुभयो । उहाँले तत्कालका लागि एउटा घोडाबाट सफारीको व्यवस्थापन गरिएको र पर्यटकहरुको माग बढ्दै गए घोडा थप गरिने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले घोडा प्राचीन कालमा यातायातको सवारी साधनमध्ये एक साधन भएकाले यसबाट मनोरञ्जनका साथै आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले पर्यटकीय स्थलहरुमा पर्यटकहरुका लागि नयाँपन दिलाउन सके मात्रै पर्यटकीय क्षेत्रको विकास हुने बताउनुभयो । पूर्व नगरप्रमुख घनश्याम पाण्डेले प्रकृति र संस्कृतिलाई जोडेर मनोरञ्जन दिन सके अर्थतन्त्र समेत चलायनमान हुने बताउनुभयो । ग्रीन फाउन्डेसन नेपालले घोडा हस्तान्तरण गरेको हो । ग्रीन फाउन्डेसन दाङका अध्यक्ष विष्णु केसीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा घोडा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

Comments