पञ्चायतका विरुद्धमा जागेका गिरीराज

  कार्तिक १३, २०७९

पञ्चायतका विरुद्धमा जागेका गिरीराज
गोकर्ण पौडेल
उनका कयन साथीहरु पञ्चायतसंग डराए,आत्मसर्मपण गरे । जीवन बचाए ,जीवनमा केही धन दौलत जोड्न भ्याए तर पहाड जस्तै अटल रहिरहे पहाडका राज गिरीराज । उनको स्वाभिमानलाई डगमगाउनका निम्ति बारम्बार शरीरमा कोर्रा बर्षारहे जसरी वर्षाको पानी बर्षिएर भूक्षय हुन्छ तर उनी कहिल्यै स्वाभिमानमा सम्झौता गरेनन् अडिरहे पञ्चायत शासनका विरुद्धमा आवाज बुलन्द पारिरहे ।
आजपनि उनी हामी कसैले बोलेको कुरा राम्रोसंग सुन्दैनन् । त्यो शासन विरुद्धमा आवा उठाउँदा पञ्चायत शासनका मतियारहरुले श्रवणशक्ति माथि नै प्रहार गरे । २०२५ सालदेखि विद्यार्थी राजनीतिमा अविरल लागेका गिरीराज अझै यात्रामै छन् । अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका गिरीराज दाङको कम्युनिष्ट आन्दोलनका एक जीवित पात्र हुन् जसले देश जनताका लागि जीवन आहुति दिन तयार भए तर शासकका सामु कहिल्यै झुकेनन् । राजनीति र शिक्षणका गुरु नेत्रलाल अभागीको सतिसाल जस्तै भएर उभिरहे । त्यो सतिसाल ढलाउनका लागि करिब छ दशकसम्म कयन आँधी हुरी बतास आए तर ढाल्न सकेनन् । ठडिरहेका गिरीराजलाई जनताले फेरि ठड्याउने छन् अमूल्य मत जाहेर गरेर ।
पञ्चायत शासनका विरुद्धमा आवाज उठाउदा दुई पटक जेलको कष्टरी भोगेका गिरीराजलाई राजनीतिमा उभ्याउनका लागि कम्युनिष्ट आन्दोलनका अग्रणी नेत्रलाल अभागीको विशेष भूमिका रह्यो । नेत्रलाल माड्सापको एक शिष्य गिरीराज जनता जर्नादनको प्रेमको भारी बोक्न चाहिरहेका छन् । नौ नौ महिनासम्म दुई पल्ट जेल जीवन बिताएका गिरीराजको जीवन हिजो जे थियो आज पनि उस्तै छ । उनको जीवन फेरिएको छैन । किसान पनि राजनीतिमा उभिन सक्छ , जसले जनताको आवाज उठाउने ठाउँसम्म पुग्न सक्छ भन्ने दृष्टान्त गिरीराज हुन् । जसले छ दशक राजनीतिमा निरन्तर लागिरहेका छन् ।
२०३२ सालदेखि पार्टी राजनीतिमा सक्रिय रहेका गिरीराज केसीले जीवनकाल राजनीतिमै बिताउँदै आएका छन् । अध्ययनका क्रममा कहिले पञ्चायतसंग त कहिले कांग्रेसका आँखी भइरहे । गिरीराजको जीवन सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय देखिन्छ । स्वयम किसान भएका कारण उनको ध्यान कृषि क्षेत्रमै बढी देखिन्छ । किसानहरुलाई बाह्रै महिना सहज र सरल तरिकाले सिचाई सुविधा पु¥याउनका लागि सिचाई जल उपभोक्ता समितिको नेतृत्वमै रहेर काम गरिरहे । ग्वार उत्खनन्का विरुद्धमा आवाज उठाइ रहे । आज उनको सपना त्यही बस्तीमा छ , जुन बस्तीमा उनी प्रत्येक रात बिताएका छन् ,जुन बस्तीमै बसेर जीवनको छ दशक संघर्ष गरिरहेका छन् । नेता कहिल्यै जनतामाझ पुग्दैनन् भन्ने आरोपलाई उनी चुनौती दिन तयार छन् । सदा सर्वदा जनताकै घर दैलोमा ,जनताकै दुःखमा ,जनताकै सुखमा देखिने गिरीराज विरलै पाइने नेतामा गरिन्छन् । जनता जर्नादनलाई साक्षी राखेर उनी समाजको रेखा बदल्न चाहन्छन् ।
त्यो नेता हो , जो जनतामाझ रहन्छ, जनताकै सुखमा ,दुःखमा रहन्छ तीनै गिरीराज जनताको मतबाट आफूलाई जनताकै माझमा राख्न चाहान्छन् । नेत्रलाल अभागीको सतिसालजस्तै पहाडमा एक्लै ठडिएका गिरीराज फेरि जनताको मतले ठडिने दौडानमा छन् ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय