भीमसेन मेट्रो अस्पतालमा शल्यक्रिया सेवा सुरु गरिदै

  कार्तिक १५, २०७९


तुलसीपुर कात्तिक १५
तुलसीपुर ८मा रहेको भीमसेन मेट्रो अस्पताललाई शल्यक्रिया सुरु गर्न थालिएको छ ।। अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्न थालिएको हो । अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन भएतापनि उपकरणको अभावमा शल्यक्रियाका काम हुन सकिरहेका छैनन् । अस्पतालमा शल्यक्रियाका लागि आवश्यक उपकरण खरिदका लागि सामाजिक दायित्वअन्र्तगत मेघा बैंकले पन्ध्र लाख सहयोग गरेको छ ।
बैंकका तुलसीपुर शाखाका प्रमुख राजन भण्डारीले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । स्थानीय सरकारले सञ्चालनमा ल्याएको अस्पतालमा शल्यक्रिया सेवा सुरु गर्नका लागि रकम सहयोग गरिएको शाखा प्रमुख राजन भण्डारीले बताउनुभयो । नगरप्रमुख टीकाराम खड्काले मेट्रो अस्पताल उपमहानगरको गौरवको क्षेत्रअन्तर्गत रहेकाले अस्पतालमा शल्यक्रियाको सेवा सञ्चालनका लागि आवश्यक उपकरण माग गरिएको र ६ महिनाभित्रै उपलब्ध हुने बताउनुभयो । उहाँले अस्पतालका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि पालिकाले ऐन पारित गरेर कानुनीरुपमै अघि बढेको बताउनुभयो । उहाँले अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति संघीय र प्रदेश सरकारसंग माग गरिएको बताउनुभयो । अस्पतालमा शल्यक्रियाका साथै बालबालिका,मातृशिशु सेवा र अपांगता भएका व्यक्तिहरुको उपचार सेवा समेत सञ्चालनका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
उपप्रमुख स्यानी चौधरीले यस अस्पतालमा विपन्न समुदायका नागरिकहरुलाई लक्षित गर्दै सहुलियतमा उपचारको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले संविधानमै स्वास्थ्य सेवालाई निशुल्करुपमा परिभाषित गरेकाले स्थानीय सरकारले नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पतालमा सेवा थप गर्न थालिएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले अस्पतालमा क्रमशः जनशक्ति र उपकरणको व्यवस्थापन गर्दै सेवा बढाउँदै लैजाने बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर प्रकाश साहुले कोरोना संक्रमणका समयमा २० हजार बढी नागरिकलाई खोप र अन्य सेवा दिएको अस्पतालमा भेन्टिलेटर , आइसियुको समेत व्यवस्थापन गर्न सकिने बताउनुभयो । उहाँले थप उपकरण प्राप्त भए तत्कालै शल्यक्रिया सेवा सञ्चालन गर्न सकिने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८का वडाध्यक्ष धर्म वलीले नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउँनका लागि मेट्रो अस्पतालको विशेष भूमिका रहेको बताउनुभयो । उहाँले क्रमशः सेवा विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।
यसैबीत अस्पतालको सेवाका प्रवाहका विषयमा छलफल गरिएको छ । नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अस्पतालले विगतमा दिएका सेवा र अब सुरु गर्ने सेवाका बारेमा मेडिकल सुपरिटेण्डेन डाक्टर प्रकाश साहुले जानकारी दिनुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृृत विमल केसीले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय