घोडा तथा कुखुरा व्यवसायीलाई सम्मान

  कार्तिक २३, २०७९

घोडा तथा कुखुरा व्यवसायीलाई सम्मान
तुलसीपुर कात्तिक २३
तुलसीपुर ११ सुकौराका ७० वर्षिय कृष्णबहादुर खत्रीको मुहार उज्यालो थियो । २०१३सालदेखि घोडे व्यवसाय सुरु गरेका खत्रीले दाङदेखि जुम्लासम्म र नेपालगञ्ज हुँदै दाङसम्म नुन तेल घोडामै ओसार पसार गर्न सुरु गर्नुभएको थियो । यो अवधिमा कृष्णलाई कसैले सम्मान , पुरस्कार गरेका थिएनन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ले वडा कार्यसमितिको पहिलो बैठकबाटै वडाभित्र रहेका प्रत्येक घोडे र कुखुरा व्यवसायीहरुलाई पुरस्कार एवम सम्मान गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सम्मान तथा पुरस्कृत गरेपछि खत्रीको मुहानमा खुसी छाएको थियो ।
वडाभित्र रहेका ५४ जना घोडा व्यवसायीलाई नगद दश हजारसहित वडाले सम्मान तथा पुरस्कार गरेको हो । वडाध्यक्ष मानबहादुर रावतले श्रमिकहरुलाई समाजमा सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्नका लागि सम्मान गरिएको बताउनुभयो । २१ जिल्लामा पशुस्वास्थ्य तालिम परामर्श सेवाका भेटेनरी डाक्टर रमण मिश्रले घोडे व्यवसायीहरुलाई पहिलो पटक सम्मान गरिएको बताउनुभयो । उहाँले अन्य कुनै पनि जिल्लामा घोडे व्यवसायीहरुलाई सरकारीतर्फबाट सम्मानका कार्यक्रम नगरिएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा तीन सय २३ जना घोडे व्यवसायी रहेका छन् । परामर्श सेवाबाट यस क्षेत्रमा घोडे व्यवसायीका घोडाहरुलाई टिटनेशको औषधी,जुकाँको औषधी दिइदै आइएको छ । घोडे व्यवसायीहरुले घर घरमा पुगेर चामल,तोरी,दलहन जस्ता बाली बिक्री तथा खरिद गर्ने गरेका छन् । त्यस्तै ११ जना कुखुरा व्यवसायीहरुलाई नगद पाँच हजार सहित सम्मान गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११का वडाध्यक्ष मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख खड्का श्रमिकहरुको सम्मानबाट समग्र पालिकाको विकासमा टेवा पुग्ने बताउनुभएको थियो । उहाँले समाजले श्रमिकलाई अझ घोडा र कुखुरा व्यवसाय गर्ने श्रमिकलाई हेर्ने दृष्टिकोण फरक भएकाले यस्ता सम्मान र पुरस्कृत संस्कृतिले समाजमा नयाँ आयाम थप्ने बताउनुभयो । कार्यक्रममा केशवराज डाँगी, नेत्रमणि शर्मा, पूर्व वडाध्यक्ष लिलाधर डाँगीलगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय