स्थानीय सरकारसंग मल माग्दै किसान

  मंसिर ०६, २०७९

तुलसीपुर मंसिर ६
यहाँका किसानहरुले समयमै मल उपलब्ध गराउनका लागि स्थानीय सरकारसंग माग गरेका छन् । मंगलबार पालिकामा मल माग्न आएका किसानहरुले वास्तविक किसानहरुले मल नपाएको भन्दै तत्काल मल वितरण गर्दै आएका सहकारीको नियमन गर्न समेत आग्रह गरेका हुन् । मल वितरण गर्दै आएको कृषि सामग्री केन्द्रले मल सकिएको भन्दै यहाँका सहकारीमार्फत मल वितरण गर्न बन्द गरेको छ ।

तुलसीपुर ७का किसान दुर्गाप्रसाद भण्डारीले माग अनुसार मल प्राप्त गर्न नसकेको भन्दै तत्काल आवश्यकताअनुसार मल उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले खेती योग्य जग्गा नै नभएको क्षेत्रमा रहेका सहकारीले मल वितरण गरिरहेकाले तत्काल त्यस्तो कार्य रोक्न आग्रह गर्नुभयो । त्यस्तै अर्का किसान खगेश्वर पराजुलीले प्रत्येक वडाको खेती योग्य जग्गाको विवरणअनुसार मल वितरण गर्नुपर्ने बताउनुभयो ।
नगरप्रमुख टीकाराम खड्काले मल खरिदको अधिकार संघीय सरकार र वितरण कोटाको अधिकार प्रदेश सरकारसंग रहेकाले स्थानीय सरकारले प्राप्त गरेको मल वितरणमात्रै रहेको बताउनुभयो । उहाँले तत्कालै सहकारीहरुको नियमन गरेर कृषि सहकारीलाई मात्रै मल वितरणको व्यवस्था गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारसमक्ष तुलसीपुर क्षेत्रमा खेती योग्य जमिन बढी भएकाले मलको कोटा थप्नका लागि माग गर्ने समेत बताउनुभयो ।नगरप्रमुख खड्काले मल वितरणमा दुरुपयोग रोक्नका लागि सहकारीमार्फत वितरण गरेकाले सहकारीका सदस्यमात्रै नभई सबै किसानलाई मल वितरण गर्नुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख धनराज गौतमका अनुसार साल्ट ट्रेडिङमा दर्ता भएका ४० वटा सहकारी संस्थालाई प्रत्येक सहकारीलाई ८० बोरा युरिया मल वितरण गरेको बताउनुभयो । यस क्षेत्रमा यस पटक ३२ सय बोरा युरिया मल सरकारले उपलब्ध गराएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय