ढुङ्गा बिच्छ्याएरै हिउँदे पुल

  पुष ०९, २०७९

             

गोकर्ण पौडेल
तुलसीपुर पुस ९
रोल्पा दाङ सडकखण्डको ग्वार खोलामा ढुङ्गा बिच्छाएर हिउँदे पुल तयार पारिएको छ । मध्य दाङको बिजौरी , श्रीचांैर हुँदै रोल्पा जिल्लाको होलेरी दहवन र सल्यान जिल्ला जोड्ने उक्त सडकखण्डमा पुल नभएपछि स्थानीयले हिउँद महिनामा यात्रा सहज बनाउनका लागि ढुङ्गा बिच्छ्याएरै पानीको बहावका कारण रोकिने यातायात सहज भएको छ ् । तुलसीपुर उपमहानगरपालिकाभित्र क्षेत्रमा पर्ने खोलामा पालिकाकै बजेटबाट पुल निर्माण गरेपनि रुन्टीगढी गाउँपालिकाको वडा नम्बर ८ रानीवास क्षेत्रमा ग्वार खोलाको पानीको बहाव ठुलो हुँदा यातायातका साधन सञ्चालनमा समेत कठिनाई हुँदै आएको छ ।

ढुङ्गा बिच्छ्याएरै पानीको बहावलाई पार गराइएको छ । असोजदेखि जेठ महिनासम्म यात्रा गर्नका लागि सहज भएको स्थानीय सुरेन्द्र बुढाले बताउनुभयो । यो सडकखण्ड भएरै सल्यानको कपुरकोट गाउँपालिका,रोल्पाको रुन्टीगढी गाउँपालिकाका नागरिकहरुलाई कृषिजन्य वस्तुको बिक्री वितरण,औषधी उपचारका लागि सहज भएको शिक्षक बाने खड्काले बताउनुभयो ।
सडकखण्डको करिब २८ किलोमिटरमध्ये बिजौरीदेखि बाँसगडीसम्म करिब दुई किलोमिटर कालोपत्रे भएको छ भने बाँसगढीदेखि कुटेचौरसम्म पाँच किलोमिटर कालोपत्रेको काम भइरहेको छ । रुन्टीगढी गाउँपालिकाको दहवनदेखि झेनामसम्म कालोपत्रे भइरहेको छ ।

पुल निर्माण भएपछि बिजौरी हुँदै दहवनसम्म दैनिक बस,ट्याक्सी यातायातका साधनहरु सञ्चालनमा आएका छन् । यस सडकखण्डलाई बाह्रै महिना सञ्चालनका लागि रुन्टीगढी गाउँपालिका वडा नम्बर ८को रानीवास क्षेत्रको ग्वार खोलामा पुल निर्माणका लागि प्रदेश सरकारसंग माग गरिएको छ । गाउँपालिकाका अध्यक्ष जनक पुनले तुलसीपुर उपमहानगरपालिका र रुन्टीगढी गाउँपालिकाबीच संयुक्तरुपमा त्यस क्षेत्रका पुल निर्माणका लागि माग गरिएको बताउनुभयो । यस सडकलाई तीन जिल्ला जोड्ने रणनीतिक मार्गकारुपमा अघि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो । उहाँले यस क्षेत्रको व्यापार,शिक्षा,स्वास्थ्य क्षेत्रको विकासमा यस सडकले महत्वपूर्ण योगदान दिने बताउनुभयो । बाँके, दाङ र रोल्पा जिल्ला जोड्ने यस सडकखण्डले पूर्व पश्चिम राजमार्गमा समेत जोड्ने गर्दछ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय