विद्यार्थीलाई माघीको कोेसेली तरुल र घ्यू

  पुष २८, २०७९

गोकर्ण पौडेल
तुलसीपुर, पुस २८
चाडपर्व मनाउने सबैको फरक फरक तरिका शैली हुन्छन् । कसैले इष्टमित्रलाई घरमा डाकेर स्वागत सत्कार गर्ने तर कसैले धार्मिकस्थलतिर घुम्न जाने । तर यहाँका एक जना जेष्ठ नागरिकले भने यो वर्षको माघे सङ्क्रान्तिलाई फरक तरिकाले मनाउन थाल्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९का ८४ वर्षिय दुर्गाबहादुर खत्रीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७मा रहेको अपाङ्गता अध्ययन केन्द्रमा रहेका बालबालिकाहरुका लागि माघीको कोसेलीस्वरुप सखरखण्ड(तरुल),घ्यू,चाम,दाल तरकारी वितरण गर्नुभएको छ ।
अध्ययन केन्द्रमा दाङ,सल्यानका १४ जना बालबालिकाहरु बस्दै आएका छन् । ती बालबालिकाहरुले वडा नम्बर ७मा रहेको अमर माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन् । ती बालबालिकाहरुलाई चाडपर्वमा रमाइलो अनुभूति दिलाउनका लागि कोसेलीस्वरुप सामग्री वितरण गरिएको खत्रीले बताउनुभयो । खत्रीले पछिल्लो पुस्ताले चाडपर्वहरुमा परिकारहरु भुल्दै गएको अवस्थामा विद्यार्थीहरुलाई खिचडी,तरुल खानुपर्छ भन्ने सन्देश पुगोस् भन्नका लागि वितरण गरिएको बताउनुभयो ।
अध्ययन केन्द्रका कार्यक्रम संयोजक यज्ञ विश्वकर्माले बहिरा,दृष्टिविहिन विद्यार्थीका लागि नेपाल सरकारबाटै आवासीय व्यवस्था भएपनि शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि विशेष व्यवस्था हालसम्म नभएकाले समस्या सिर्जना भएको बताउनुभयो । उहाँले विद्यार्थीहरुका लागि स्याहार सुसारका लागि आयाको व्यवस्था तुलसीपुर उपमहानगरपालिकाले गरेतापनि पालन पोषणका लागि वैकल्पिक व्यवस्था नहुँदा समस्या सिर्जना भएको बताउनुभयो ।
नेपाल सरकारले दृष्टिविहिन,बहिरा विद्यार्थीहरुका लागि आवासीय व्यवस्थाका लागि मासिक चार हजार उपलब्ध गराउँदै आएको छ । यद्यपि शारिरीक अपाङ्गता भएका अमर माध्यमिक विद्यालयमा पढ्दै गरेका ती १४ जना विद्यार्थीले उक्त सुविधा अझै प्राप्त गर्न सकेका छैनन् ।उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले १४ जना विद्यार्थीहरुका लागि आवासीय व्यवस्थाका लागि शिक्षा मन्त्रालयमा विवरण पठाइएको जानकारी दिनुभयो ।
फोटो क्याप्सन ः कोसेली वितरण गर्दै ८४ वर्षिय दुर्गाबहादुर खत्री

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय