स्थानीय उत्पादन प्रोत्साहन गर्न
कृषिजन्य वस्तु बिक्रीका लागि किसान परिचय पत्र

  बैशाख ०६, २०८०

तुलसीपुर वैशाख ६
तुलसीपुर उपमहानगरपालिकाले स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारमा बिक्रीका लागि किसान परिचय पत्र वितरण सुरु गर्न थालेको छ । अन्यत्रबाट उत्पादन भएका कृषिजन्य वस्तुको बिक्री वितरणलाई निरुत्साहित र स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु प्रोत्साहन गर्नका लागि परिचयपत्र वितरण गर्न थालेको हो । तुलसीपुर उपमहानगरपालिकाले बजार क्षेत्रमा स्थानीय किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्री गर्नका लागि किसान परिचय पत्र वितरण गर्न थालेको हो ।
तुलसीपुर उपमहानगरपालिका कृषि शाखाले १९ वटै वडामा बजार क्षेत्रमा तरकारी वितरण गर्नका लागि वडामा सुचिकृत हुनका लागि पत्राचार गरेको छ । कृषि शाखाका प्रमुख धनराज गौतमले गैह्र किसानहरुले अन्यत्रबाट ल्याएका तरकारी बजार क्षेत्रमा यत्रतत्र बिक्री वितरण गर्न थालेपछि स्थानीय किसानहरु मारमा परेको भन्दै परिचय पत्र वितरण गर्न थालिएको हो ।
आर्थिक विकास समितिका संयोजक माधव वलीले किसानहरुले परिचयपत्र प्राप्त गरेसंगै बिहान ४देखि ८ बजेसम्म बजार क्षेत्रमा कृषिजन्य वस्तु बिक्री सहजरुपमा गर्न पाउने व्यवस्था गर्न थालिएको छ । सयोजक वलीले परिचय पत्र नराखी बजारमा तरकारी बिक्री वितरण गर्न नपाइने व्यवस्था गरिएको बताउनुभयो । संयोजक वलीले अनुसार किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्री वितरणका लागि वडा नम्बर १२मा हाट बजारको व्यवस्था गर्न थालिएको छ ।
आर्थिक विकास समितिका संयोजक माधव वलीले बजारमा खुल्लारुपमा भारतीय तरकारी ठेलामा राखेर बिक्री गर्दा स्थानीय किसान मारमा परेका कारण किसान परिचय पत्र वितरण गर्न थालिएको बताउनुभयो । उहाँले सम्बन्धित वडाले तरकारी बिक्री वितरण गर्ने किसानले उत्पादन गरेको विवरण सिफारिस पत्रमा जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले किसानहरुको हकहितका लागि किसान परिचय पत्र वितरण गर्न थालिएकाले सामाजिक सञ्जालमा भ्रमित पार्ने सूचना प्रवाह नगर्न सबैका आग्रह गर्नुभयो । संयोजक वलीले भन्नुभयो –‘हाम्रा किसान सधैँ मारमा पर्ने तरकारी कुहाएर फाल्ने समस्या सदाका लागि अन्त्य गर्ने प्रयासस्वरुप गर्न थालेका हौँ, पालिकाले किसानसंग कर उठाउने प्रपञ्च ग¥यो भन्ने सामाजिक सञ्जालमा भ्रम छरिएको छ कोही किसान भ्रममा नपर्नुहोला ” । उहाँले भारतीय बजारबाट परीक्षण बिना नै तुलसीपुर बजार क्षेत्रमा तरकारी भित्रिरहेको अवस्थामा त्यस्ता तरकारी नकिन्न समेत आग्रह गर्नुभयो । तुलसीपुर उपमहानगरपालिकाले भारतीय बजारबाट खुल्लारुपमा विषादी परीक्षण नगरेरै तुलसीपुर बजार क्षेत्रमा भित्रने तरकारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनसंगको समन्वयमा चेकजाँच गर्न थालेको नगर प्रवक्ता समेत रहेका वलीले बताउनुभयो । उहाँले तुलसीपुर बजार क्षेत्रमा मात्रै विना चेकजाँच नै दैनिक तीन ट्रक तरकारीजन्य वस्तु भित्रने तथ्य फेला पारिएको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय