प्रत्येक सामुदायिक विद्यालयमा सूचना प्रविधि सामग्री

  बैशाख ०९, २०८०

तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका प्रत्येक सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि सामग्री हस्तान्तरण सुरु गरिएको छ । पहिलो चरणमा आधारभूत तह पढाइ हुने सामुदायिक विद्यालयमा सूचना प्रविधि सामग्री हस्तान्तरण गरिएको छ । पालिकाले सूचना र प्रविधिको क्षेत्रमा शिक्षकको क्षमता बढाएर पठनपाठनमा सुधार ल्याउनका लागि सूचना प्रविधि सामग्री हस्तान्तरण गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाभित्र आधारभूत र माध्यमिक तह पढाइ हुने ८३ वटा विद्यालय रहेका छन् । ती विद्यालयमध्ये माध्यमिक तह पढाइ हुने विद्यालयमा सूचना प्रविधिका सामग्री भएतापनि आधारभूत तह पढाइ हुने सम्पूर्ण विद्यालयमा सामग्रीको अभाव रहेको थियो । ।
नगरप्रमुख टीकाराम खड्काले सम्पूर्ण विद्यालयमा क्रमशः सूचना प्रविधि सामग्री हस्तान्तरण गर्दै लैजाने बताउनुभयो । उहाँले प्रविधिको विकाससंगै शिक्षकले समेत आफूलाई निपूर्ण बनाउनुपर्ने बताउनुभयो । उहाँले पठनपाठनमा सूचना र प्रविधिको अधिकतम प्रयोग गरेर विद्यार्थीहरुलाई शिक्षण गर्न सके शैक्षिक गुणस्तर बढ्ने बताउनुभयो । शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले सूचना प्रविधि सामग्री हस्तान्तरणका साथै विद्यालयमा प्रयोगमा ल्याउनका लागि शिक्षकहरुलाई प्रशिक्षण दिइएको बताउनुभयो । उहाँले विद्यालयमा उपलब्ध गराइएका सूचना प्रविधि सामग्रीलाई यथावत् नै नराखी उपयोगमा ल्याउनका लागि आग्रह गर्नुभयो । शिक्षक मेघराज भण्डारीले सूचना प्रविधिको सीपबाट कार्यालयीय पत्र लेखन, तथ्यांक संकलन,इ कक्षा सञ्चालनमा सहयोग पुगेको बताउनुभयो ।
यसैबीच तुलसीपुर उपमहानगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा चार दिने सूचना प्रविधि सम्बन्ी तालिमको समापन गरिएको छ । शाखा प्रमुख चक्रबहादुर भण्डारीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय