फर्सारामको योगदानलाई भुल्नु हुँदैन ः खड्का

  बैशाख २७, २०८०

लक्ष्मण विश्वकर्मा
तुलसीपुर वैशाख २७

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य टीकाराम खड्काले फर्साराम देवकोटाको योगदानलाई भुल्न नसकिने बताउनुभएको छ । फर्साराम देवकोटा स्मृति प्रतिष्ठानको (बुधवार) तुलसीपुर १६ लक्ष्मीपुरमा सम्पन्न भएको २९ औँ स्मृति दिवस तथा १८ औँ साधारण सभालाई सम्बोधन गर्दै खड्काले फर्सारामले राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा गरेको योगदानलाई कहिल्यै भुल्न नहुने बताउनु भएको हो ।

सबैका गुरु भनेर चिनिने देवकोटाले राजनितिक परिवर्तन र समाज रुपान्तरणका लागी महत्वपुर्ण योगदान गरेको चर्चा गर्दै नगरप्रमुख खड्काले उहाँले गरेका काम र समाजसेवा अझै पनि अमर रहेको बताउनुभयो । समाजमा योगदान गर्ने व्यक्तित्वहरुको बाचुन्जेल भन्दा देवसान भएपछि चर्चा गर्ने प्रवृत्ति भएको भन्दै देवकोटाले गरेको विचार र निष्ठाको राजनीतिक तथा समाजसेवालाई युवापुस्ताले सिक्नु पर्ने बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष जगदिश देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर १६का वडा अध्यक्ष शिवानन्द डाँगीले प्रतिष्ठान सबैको साझा संस्था भएको बताउनु भयो । फर्साराम देवकोटाको योगदानको प्रशंसा गर्दै उहाले प्रतिष्ठानको संस्थागत विकासका लागि अपहल गर्ने बताउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष भुव बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य अमर खड्का, कोषाध्यक्ष रमा भण्डारी लगायतले बोल्नु भएको थियो । सो अवसरमा नगरप्रमुख टीकाराम खड्का, वडा अध्यक्ष शिवानन्द डिसीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने अक्षयकोष स्थापनाकर्ता गेहेन्द्र बस्नेतले आफना बुवाआमाको सम्झनामा स्थापना गरेको अक्षयकोष छात्राबृत्तिबाट मावि लक्ष्मीपुरका जेहेन्दार छात्रा एलिना वली र सरस्वती प्राविका छात्रा कृतिमान चौधरीलाई परुस्कार प्रदान गरिएको छ ।साथै अक्षयकोष दाताका बुवाआमालाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव उत्तरकुमार न्यौपानेले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय