हरित टोलका लागि सडक छेउमा बिरुवा

  असार २९, २०८०

हरित टोलका लागि सडक छेउमा बिरुवा
तुलसीपुर असार २९
तुलसीपुर उपमहानगरपालिकामा हरित टोल बनाउनका लागि सडक छेउमा बिरुवा रोप्न सुरु गरिएको छ । टोलमा रहेका सडक किनारामा विभिन्न प्रजातिका बिरुवा रोपण सुरु भएको छ । टोलको सौन्दर्यताका लागि सुन्दरता दिने विभिन्न प्रजातिका बिरुवा रोप्न सुरु गरिएको छ ।
प्रारम्भिक चरणमा तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ९ दोघर्रे नगर विकास क्षेत्रको बस्ती क्षेत्र वरपर ,वडा नम्बर ५को बसपार्क क्षेत्रभित्र र वडा नम्बर ६को कमल पोखरी छेउछाउमा बिरुवा रोप्न सुरु गरिएको हो ।

बिरुवा रोपण तथा संरक्षणमा सहयोग गर्दै आएको वातावरणीय सुशासन समितिका अध्यक्ष किरण तिमल्सिनाले सडक छेउछाउमा सुन्दरका लागि रुद्राक्ष, नीम,कपुर,कल्की,गुलमोर,श्रीष लगायतका प्रजातिका १२ सय बिरुवा रोप्न थालिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष घनश्याम ढकालले रोपिएका बिरुवाको टोल विकास समितिको संयोजनमा वडा कार्यालयले संरक्षण गर्ने बताउनुभयो ।
नगरप्रमुख टीकाराम खड्काले वर्षेनि बिरुवा रोप्ने तर संरक्षण नगरेकाले अधिकांश बिरुवा मर्ने भएकाले अब संरक्षण गर्न सकिने बिरुवा मात्रै रोप्ने बताउनुभयो । उहाँले श्रम अभियानबाटै तुलसीपुर उपमहानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा बिरुवा रोप्न थालिएको बताउनुभयो । नगरप्रमुख खड्काले बजार क्षेत्रभित्र सौन्दर्यकरणका लागि विभिन्न प्रजातिका फूलका बिरुवा रोप्न थालेको बताउनुभयो । जिल्लामा डिभिजन वन कार्यालयले बिरुवा रोप्नका लागि सेलब्रेटीसँग वन कार्यक्रम सुरु गरेको छ भने सामुदायिक वनहरुले समेत वृक्षरोपण कार्यलाई अभियानकैरुपमा अघि बढाएका छन् ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय