नयाँ भवन पाउँदै मावि कालाखोला

  साउन २८, २०८०


तुलसीपुर श्रावण २८
पुरानो भवन जीर्ण भएपछि माध्यमिक विद्यालय कालाखोलामा पठन पाठनमा समस्या हुँदै आएको छ । पुरानो भवनमा चुहिने, झ्याल ढोका साना भएका कारण पर्याप्त कक्षाकोठाभित्र उज्यालो नहुँदा समस्या झेलिरहेको छ । त्यस्तै कोठा साना हुँदा विद्यार्थी बस्न समेत समस्या हुँदै आएको छ । त्यही समस्या समाधान गर्नका लागि तुलसीपुर उपमहानगरपालिका र छाया नेपालको संयुक्त लगानीमा आठ कोठे पक्की भवन निर्माण सुरू गरिएको छ ।
विद्यालयको स्थापना २०४१ सालमा भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७मा रहेको विद्यालयमा कक्षा १२सम्म पढाइ भइरहेको छ । विद्यालयमा पक्की १८ वटा र कच्ची ९ वटा कोठा रहेका छन् । विद्यालयमा आठ सय दुई जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक राजीव ओझाले जानकारी दिनुभयो । कक्षा ११ र १२मा शिक्षा र व्यवस्थापनतर्फका विषय पढाइ भइरहेका छन् । त्यस्तै विद्यालयमा शारीरीक अपांगता भएका विद्यार्थीहरूका लागि आवासीय व्यवस्था समेत गरिएको छ । दाङ जिल्लाका १० जना र सल्यान जिल्लाका दुई जना गरी १२ जना विद्यार्थीहरू रहेका छन् ।
यसैबीच भवनको एक कार्यक्रमको आयोजना गरेर शिलन्यास गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारलाई प्राथमिकतामै राखिएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारका साथै शैक्षिक उपलब्धिका लागि समेत समेत पालिकाबाट विशेष कार्यक्रम गर्दै आएको बताउनुभयो । नगरप्रमुख खड्काले सूचना प्रविधि सामग्री सीपसहित हस्तान्तरण,स्थानीय पाठ्यक्रमसहित पाठ्यपुस्तक प्रकाशन गरी विद्यालय तहमा पठाइएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाको २० प्रतिशत र छाया नेपालको ८० प्रतिशत गरी कूल एक करोड ५३ लाखको लागतमा भवन निर्माण हुन थालेको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय