‘हिमोफेलिया’ फ्याक्टर उपचार घरमै पुगेर सहयोग

  साउन ३०, २०८०


तुलसीपुर श्रावण ३०
अनुवांशिक रक्त विकार समूह ‘हिमोफेलिया’ फ्याक्टर उपचारका लागि घरमै पुगेर सहयोग गरिएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७का १४ वर्षिय रुद्र वलीलाई तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले घरमै पुगेर सहयोग गर्नुभएको हो । तुलसीपुर उपमहानगरपालिकाभित्र ६ जनामा यस्तो समस्या देखिएको छ । समस्या देखिएका ६ जनालाई यातायात प्रत्येकलाई १५ हजार सहयोग गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७का वडाध्यक्ष रामबहादुर केसीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा सहयोग गरिएको हो । वडा नम्बर ७का एउटै घरका तीन दाजुभाइमा यस्तो समस्या देखिएको छ । वडा नम्बर ७ डाँडापातुका ३८ वर्षका शेरबहादुर चौधरी,३३ वर्षका रामबहादुर चौधरी र ३० वर्षका काशीराम चौधरी यो रोगबाट प्रभावित हुनुहुन्छ । २०६८ सालमा भाइको शल्यक्रियाका क्रममा रक्तश्रावकै कारण रोग पत्ता लागेको दाजु रामबहादुर चौधरीले बताउनुभयो । चौधरीले वर्षमा १६ पटक उपचार गर्नका लागि काठमाडौ जानुपर्ने र एकपल्ट जाँदा तीन दाजुभाइको २० हजार रुपियाँ खर्च हुने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाभित्र अहिलेसम्म ६ जनामा यस्तो रोगका बिरामी भेटिएको स्वास्थ्य शाखाका अधिकृत विष्णु गिरीले बताउनुभयो । गिरीका अनुसार यो रोग लागेका बिरामीमा शरीरमा नीलो डाम देखिने, रक्तश्राव हुने, जोर्नी सुनिने जस्ता लक्षण देखा पर्दछन् । नगरप्रमुख टीकाराम खड्काले संघ र प्रदेश सरकारसँग समन्वय गरेर आगामी वर्षदेखि हिमोफेलियाका बिरामीको उपचार खर्चमा थप व्यवस्था गरिने बताउनुभयो । नेपालमा २०७८को जनगणना अनुसार चार हजार नौ सय ३७ जना र लुम्बिनी प्रदेशमा नौ सय ५८ जना बिरामी रहेका छन् । रगत जमाउने तत्वको अभावमा यो रोग देखापर्दछ ।यो रोगबाट प्राय पुरुषलाई नै प्रभावित हुँने गरेका छन् । वंशाणुगत रोग हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय