विराजको विराट काम पितृको सम्झनामा प्रतीक्षालय

  कार्तिक २६, २०८०


तुलसीपुर कार्तिक २६
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११का ६८ वर्षिय विराज चौधरीले पितृहरुको सम्झनामा प्रतीक्षालय निर्माण गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरका चौधरीले बुवा आमा टेनु र चिप्या र श्रीमती रामकलीको सम्झनामा प्रतीक्षालय निर्माण गर्नुभएको हो ।
करिब एक लाख ७० हजारको लागतमा तुलसीपुर ११ र दंगीशरण गाउँपालिका वडा नम्बर २ जोड्ने बबई नदीको झोलुङ्गे पुलको छेऊ मोतीपुरमा प्रतीक्षालय निर्माण गर्नुभएको हो ।
सधैँ गाईवस्तु चराउन आउँदा झोलुङ्गे पुलसम्म अटोले यात्रुलाई ल्याएर झारिदिने वा अटोको पर्खाइमा बस्दा दिने ती यात्रु कहिले वर्षायाममा निथ्रुक्कै भिज्ने त कहिले टन्टलापुर घाममा बसिरहेको दृश्य विराजले देख्नुहुन्थ्यो । विराजलाई एउटा प्रतीक्षालय निर्माण गरिदिएपछि यात्रुले भोग्ने यो सास्ती सदाका लागि हट्छ कि भन्ने विचार आयो । विराज चौधरी भन्नहुन्छ – जीवनको सात दशक बिताइसके,समाज गाउँमा केही देखिने काम गर्नुपर्छ कि भन्ने विचार आयो अनि बुवा आमा र श्रीमतीको सम्झनामा प्रतीक्षालय निर्माण गरे ।
वडा सदस्य तिलक थारु त्यस क्षेत्रमा विराजले प्रतीक्षालय बनाउन अनुमति लिएको एक महिना नबित्दै प्रतीक्षालय निर्माण कार्य सम्पन्न गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ विराजमा तीव्र इच्छाशक्ति रहेछ,एक महिना नबित्दै प्रतीक्षालय निर्माण गर्नुभयो ।
नगरप्रमुख टीकाराम खड्काले समाज निर्माणमा समुदायको भूमिका विशेष रहने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ नेपाली समाजमा पाटी,पौवा,चौतारो, धारा,कुवा, प्रतीक्षालय,विद्यालय व्यक्तिले नै निर्माण गर्ने परम्परा लोप भइरहेको अवस्थामा विराज जस्ता अगुवाको विराट कार्य सबैले अनुकरण गर्नुपर्छ । उहाँ भन्नुहुन्छ सामाजिक कार्यमा समुदायको सहभागिता भए मात्रै अपनत्व हुने र त्यसबाट राज्यलाई समेत त्यस्ता कार्यमा लाग्न प्रेरित गर्छ ।
नगरप्रमुख टीकाराम खड्काले प्रतीक्षालयको उद्घाटन गर्दै त्यस क्षेत्र वरपर तार जाली लगाउँने, जमिन सम्याउने काम पालिकाबाट गरिने बताउनुभयो । उहाँले त्यस क्षेत्रमा सामुदायिक वनसँग समन्वय गरेर पार्क निर्माण गर्न आग्रह गर्नुभयो । त्यस क्षेत्रका अगुवा तिलकबहादुुर बस्नेतले पालिकाले यस गाउँको सडक कालोपत्रे सुरु गरेको र त्यसलाई पूर्णता दिन आग्रह गर्नुभयो ।
वडा सदस्य तिलकराम थारुको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा प्रतीक्षालय उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय