कागजमा हैन व्यवहारमै परियोजना कार्य

  पुष ०१, २०८०


तुलसीपुर पुस १
तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा परियोजना कार्यलाई व्यवहारमै कार्यान्वयनमा ल्याउन थालेको छ । पाठ्यक्रममा परियोजना कार्य समावेश गरेपनि विद्यार्थीहरुका लागि अंकभार प्रदान गर्नका लागि कागजमै सीमित भएको छ । तुलसीपुर उपमहानगरपालिकाले पहिलो चरणमा २४ वटा माध्यमिक विद्यालयमा परियोजना कार्यलाई व्यवहारमै कार्यान्वयनमा ल्याउन थालिएको छ ।
शिक्षा शाखाकाले परियोजना कार्यलाई व्यवहारमै उर्तानका लागि २४ वटा विद्यालयका परियोजना कार्य संयोजकहरुलाई प्रशिक्षण गरेको छ । शाखाले संयोजकहरुलाई समयावधि तोकेर कुन कुन क्षेत्र र विषयमा परियोजना तयार पार्नका लागि प्रतिबद्धता समेत गराएको छ ।
नगरप्रमुख टीकाराम खड्काले शिक्षाको व्यवहारिक पक्षलाई ध्यान दिदै परियोजना कार्यलाई विद्यार्थीमाझ अनिवार्य बनाउन थालिएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि भौतिक सुधारका साथै शैक्षिक सुधारका प्रयास थालनी गरिएको बताउनुभयो । नगरप्रमुख खड्काले शिक्षकहरुमा योग्यता पर्याप्त भएपनि त्यसलाई व्यवहारमुखी बनाउनका लागि प्राविधिक पक्षको ज्ञानमा विशेष दख्खल राखेमात्रै विद्यार्थीलाई ज्ञान बाड्न सकिने बताउनुभयो ।
शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले उत्कृष्ट परियोजना कार्य तयार पार्ने विद्यालयलाई विशेष कार्यक्रम आयोजना गरेर सम्मान तथा पुरस्कृत गरिने बताउनुभयो । उहाँले परियोजना कार्यलाई विगतमा कागजमै मात्रै सीमित देखिएकाले त्यसलाई व्यवहारमै उतार्ने प्रयास थालिएको बताउनुभयो ।
प्रशिक्षक दुर्गा पाण्डेले विद्यालयहरु आफ्नो मात्रै सुधार नभई छिमेकी विद्यालय सुधारमा लाग्नुपर्ने बताउनुभयो । उहाँले विश्वव्यापीकरणसँगै सबै सक्षम र ,योग्य बन्ने मार्गमा अघि बढ्नुपर्ने बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय