न्याय छिटो छरितो गर्न मेलमिलापकर्ताका लागि पुर्नताजगी

  पुष १७, २०८०

 

तुलसीपुर पौष १७
तुलसीपुर उपमहानगरपालिकाले न्यायिक सम्पादनलाई छरितो र प्रभावकारी बनाउनका लागि पालिकाभित्र सूचिकृत भएका मेलमिलापकर्ताहरुलाई पुर्नताजगी सुरु गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका न्यायिक समिति र कानुन शाखाले पालिकाभित्र सूचिकृत भएका मेलमिलापकर्ताहरुलाई दुई चरणमा प्रशिक्षण सुरु गरेको हो ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले न्यायिक सम्पादनका सवालमा विगतमा कानुनीले उचित ठानेका विषयवस्तु समयक्रमअनुसार अहिले अनुचित ठानेको बताउनुभयो । उहाँले न्यायिक समितिमार्फत् कुनै पनि विवादका पक्षहरुबीच समस्या समाधानका लागि कानुनी आधार र प्रणामलाई राखेर अघि बढाउँदा अदालतसम्म पुग्दासमेत त्यसले प्रभाव नपार्ने बताउनुभयो । मुख्य न्यायाधीश पाण्डेले तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा तीन जनानै महिला हुनु सकारात्मक भएको बताउनुभयो । उहाँले न्यायिक समितिमार्फत् कार्य सम्पादन गर्ने क्रममा कानुन र व्यवहार दुवैलाई मिलाएर गर्दा थप प्रभावकारी देखिने भएकाले नै जनप्रतिनिधिलाई संविधानमै अधिकार सुनिश्चित गरिएको बताउनुभयो ।
उहाँले मेलमिलापकर्ताको भूमिकाबाट आर्थिक उर्जाजनको क्षेत्र नभई सामाजिक सेवाको क्षेत्र भएकाले सोहीबमोजिम काम गर्न आग्रह गर्नुभयो । मुख्यन्यायाधीश पाण्डेले समितिले गरेका सम्पूर्ण क्रियाकलापहरुलाई लिपिबद्ध गरी राख्न आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐनभित्र रही काम गरे विवाद सिर्जना नहुने बताउनुभयो ।
नगरप्रमुख टीकाराम खड्काले न्यायिक समितिबाट न्याय सम्पादनमा छिटो र छरितो बनाउनका लागि मेलमिलापकर्ताहरुलाई पुर्नताजगी सुरु गरिएको बताउनुभयो । उहाँले मेलमिलापकर्ताहरुका लागि दक्ष जनशक्तिबाटै प्रशिक्षणको व्यवस्था गरिएको बताउनुभयो ।
न्यायिक समितिका संयोजक एवम उपप्रमुख स्यानी चौधरीको अध्यक्षता एवम उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा न्यायिक समिति सदस्य देवी पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन बैठक व्यवस्थापन शाखाका प्रमुख झरेन्द्र खरेलले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय