फोहोरबाट मोहोर
गल्ने फोहोर कम्पोष्ट मल बनाइदै

  पुष २३, २०८०


तुलसीपुर पुस २३
तुलसीपुर उपमहानगरपालिकाले गल्ने फोहोरलाई कम्पोष्ट मल उत्पादनको तयारी गरेको छ । गल्ने फोहोरबाट कम्पोष्ट मल उत्पादनका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६मा रहेको फोहोरमैला प्रशोधन केन्द्रमा दुई वटा मेसिन जडान गरि परीक्षण सुरु गरेको छ ।

वातावरण तथा सरसफाई शाखाका प्रमुख माधव पौडेलले पालिकाभित्र दैनिक २५ टन फोहोर संकलन हुने गरेको बताउनुभयो । पौडेलका अनुसार दैनिक १८ टन नगल्ने फोहोर र ७ टन गल्ने फोहोर जम्मा हुने गरेको छ । पालिकाभित्र बजार क्षेत्रमाबाहेक ग्रामीण क्षेत्रमा भने गल्ने फोहोरबाट जुन घरमा जम्मा हुन्छ त्यही घरमै कम्पोष्ट मल बनाउने गर्दा दैनिक एक हजार केजी मात्रै गल्ने फोहोर केन्द्रमा जम्मा हुने गरेको छ । उहाँका अनुसार गल्ने फोहोरलाई २८ दिनमै कम्पोष्ट मलकारुपमा तयार हुने गर्दछ । पालिकाले कम्पोष्ट मल प्याकेजिङ्ग गरेर बिक्री वितरणकै तयारी गरेको छ ।
कम्पोष्ट मल निर्माणमा सहकार्य गर्दै आएको ब्लु वेष्ट प्रालिकाका रोनिश शाक्यले बजार क्षेत्रका १४ वटा टोलमै पुगेर कुहिने र नकुहिने फोहोर संकलनका लागि टोलबासीलाई प्रशिक्षण र आवश्यक सामग्रीको व्यवस्थापन गर्न थालिएको बताउनुभयो । उहाँले नकुहिने फोेहोरबाट पनि विभिन्न सामग्री निर्माण गर्न थालिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले फोहोरका कारण बजारको सुन्दरताका साथै वातावरणमा समेत असर पुग्दै आएकाले त्यसलाई दीर्घकालीन समाधान गर्नका लागि कम्पोष्ट मल उत्पादन गर्न थालिएको बताउनुभयो । उहाँले फोहोर फाल्ने ठाउँ नजिकै धावनमार्ग भएकाले त्यस क्षेत्रमा चराचुरुङ्गी उड्दा उडानमा समेत समस्या देखिएकाले दीर्घकालीन समस्या समाधानका लागि कम्पोष्ट मल उत्पादन केन्द्र बनाउन थालिएको बताउनुभयो ।


सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय