जुरपनियाको साधारण सभा सम्पन्न

  January 18, 2023

तुलसीपुर .माघ ४
जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सातौ साधारण सभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष रामकुमार डाँगीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७,१८ र १९ नम्बर वडाका करिब सात सय धारा वितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि खड्काले खानेपानीको दीर्घकालीनरुपमा समस्या समाधानका मुहानको संरक्षणका साथै पानी पोखरी निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले तुलसीपुर पालिकाभित्र रहेको ससाना खानेपानी सस्थाहरु मर्ज गरेर ठुला आयोजनाकारुपमा सञ्चालन नगर्दा संस्था सञ्चालनमा समस्या आउने बताउनुभयो ।
नगरप्रमुख खड्काले पालिकभित्र रहेका खानेपानी संस्थाहरुलाई थप बलियो र सक्षम बनाउनका लागि संघ तथा प्रदेशसंग समन्वय भइरहेको बताउनुभयोे । कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर १८का वडाध्यक्ष माधव वलीले खानेपानीको समस्या समाधानका लागि मुहान संरक्षण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा घोराही खानेपानी संस्थाका अध्यक्ष देवीबहादुर डिसी,तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारी,खानेपानी सञ्जालका अध्यक्ष खेमराज वली,छरछरे खानेपानी संस्थाका गेहराज पौडेल, नेपाली काग्रेस वडा नम्बर १८का सभापति वीरेन्द्र खड्का,नेकपा एमालेका अध्यक्ष मुकेश वली, माओवादी केन्द्रका लोकबहादुर बहकरी, समाजवादी केन्द्रका इन्चार्ज डिल्ली पुन,संस्थाका सल्लाहकार हिमबहादुर डाँगी, माध्यमिक विद्यालय भित्री सक्रामका प्रधानाध्यापक सूर्यबहादुर बस्नेत,सामुदायिक वन महासंघका अध्यक्ष चन्द्रबहादुर वली लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सदस्य शेषमणि कुवरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत गीत पूर्ण पुनले गाउनुभएको थियो । कार्यक्रममा संस्थाका उपभोक्ता केवली कमिनी, सुशेली युवा क्लब र अम्बखोली सांस्कृतिक समूहलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कुलप्रसाद नेपालीले गर्नुभएको थियो ।

Comments