योग पाठ्यक्रम विद्यालयदेखि विश्वविद्यालयसम्म

  January 18, 2023

गोकर्ण पौडेल
तुलसीपुर माघ ४
योग विषयलाई अध्ययनका लागि विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्न थालिएको छ । पछिल्लो समयमा नेपालमा योगप्रति दिनप्रतिदिन आकर्षण बढ्न थालेपछि विश्वविद्यालयले पाठ्यक्रममा समावेश गर्न थालेको हो । दर्शनका पाँच वटा शास्त्र अध्यापन गराउँदै आएको नेपाल संस्कृत विश्वविद्यालयले आचार्य(स्नातकोत्तर)तहमा योगलाई समेत पाठ्यक्रममा समावेश गर्न थालेको हो । विश्वविद्यालयले साङ्ख्य,न्याय,मिमांसा,वैशेषिक वेदान्त दर्शन अध्ययन गराउँदै आएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीका अनुसार शैक्षिक सत्र २०८०देखि अध्यापन गराउने उद्देश्यले योगको पाठ्यक्रम तयार पार्न सुरु गरिएको छ । उहाँले भन्नुभयो –योगाचार्य भन्ने तर योगको दर्शन बारेमा जानकारी नै नहुने अवस्था सिर्जना हुन थाल्यो,त्यसैले योगका बारेमा अध्ययन गर्नका लागि संस्कृत भाषामै पाठ्यक्रम तयार पार्न थालेका छौ ।
कुलसचिव सहप्राध्यापक अधिकारीका अनुसार संस्कृततर्फ आचार्य(स्नातकोत्तर)जीवन शैली तथा योग विज्ञान र प्राकृतिक चिकित्सा स्नातक तहमा समेत योगको विषयलाई अध्यापन गराउनका लागि पाठ्यक्रम तयार पारिएको छ । संस्कृततर्फ सर्वदर्शन विषयमा योगको विषय समावेश गरेतापनि छुट्टै पाठ्यक्रमकारुपमा समावेश गरिएको थिएन ।
विद्यालय तहमा समेत योग विषय अध्ययनका लागि पाठ्यक्रम तयार पारिएको छ । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीका अनुसार स्थानीय पाठ्यक्रममा योगलाई समावेश गरेर पाठ्यक्रम तयार पारिएको र पाठ्यपुस्तक प्रकाशनको तयारी गरिएको बताउनुभयो ।उहाँले योगलाई विद्यालयतहकै पाठ्यक्रममा राखेर विद्यार्थीहरुलाई नैतिकवान्,चरित्रवान् र स्वस्थ राख्नका लागि सहयोग पुग्ने बताउनुभयो । तन,मन स्वस्थ राख्नका लागि दैनिक योगाभ्यास गर्ने गरिएको छ ।

Comments