हात्तीपाइले विरुद्धको औषधी खान स्वास्थ्यमन्त्रीको आग्रह

  February 23, 2023

तुलसीपुर फागुन ११
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले हात्तीपाइले रोगको औषधी निर्धक्क भएर नागरिकलाई खान आग्रह गर्नुभएको छ । राष्ट्रिय अभियानअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले सुरु गरेको कार्यक्रमको सुरुवात् गर्दै स्वास्थ्य मन्त्री पन्थीले राज्यले १२ वर्षदेखि निरन्तर अभियान चलाएपनि नागरिकमा औषधीप्रति विश्वास बढ्न नसक्दा सार्थकता पाउन नसकेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुबाटै अभियानमा संलग्न भएको अवस्थामा नागरिकहरुमा औषधीप्रति विश्वास बढ्न गई अभियानले सार्थकता पाउने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशका दाङ,बाँके र बर्दिया जिल्लामा हात्तीपाइले रोगका बिरामी देखापरेकाले तीन जिल्लामा विशेषरुपमा औषधी खुवाउने अभियानमा स्वास्थ्यकर्मी,जनप्रतिनिधिहरु तल्लिन भएर लाग्नुपर्ने बताउनुभयो । मन्त्री पन्थीले औषधीबाट कुनै असर नपु¥याउने भएकाले सबैको अनिवार्यरुपमा औषधी खानका लागि आग्रह गर्नुभयो ।
मन्त्री पन्थीले औषधी खाएर कार्यक्रमको सुरुवात् गर्नुभएको हो । उहाँले तुलसीपुर ११को अमर माध्यमिक विद्यालयमा समेत पुगेर विद्यार्थीमाझ पुगेर औषधी खुवाउने कार्यक्रमको सुरुवात् गर्नुभएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले नागरिकले हात्तीपाइलेको औषधी नखादा अन्य नागरिकमा समेत हात्तीपाइलेका जीवाणुले असर पुगाउने भएकाले सबैले औषधी खानका लागि आग्रह गर्नुभयो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवम वडा नम्बर ११का वडाध्यक्ष मानबहादुर रावतले विद्यार्थीहरुलाई निर्धक भएर हात्तीपाइले विरुद्धको औषधी खान आग्रह गर्नुभएको हो । विद्यालयमा वडाध्यक्ष रावतले औषधी खाएर कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

Comments