विपद् पूर्व तयारी प्रतिकार्य कृत्रिम अभ्यास गरिदै

  February 28, 2023


तुलसीपुर फागुन १६ गते
तुलसीपुर उपमहानगरपालिकाभित्र विपद् पूर्व तयारी प्रतिकार्य कृत्रिम घटना अभ्यास गर्न थालिएको छ । नेपाल सरकार गृहमन्त्रालयले जिल्लाको तुलसीपुर उपमहानगरपालिकालाई छनोट गरेर अभ्यास गर्न थालेको हो ।
विपद्को जोखिम भूकम्पका दृष्टिकोणले धेरै क्षेत्रमा क्षति पुग्ने भएकाले भूकम्प प्रतिकार्य घटनाको अभ्यासलाई पहिलो प्राथमिकतामा राखिएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले विपद् जोखिमका दृष्टिकोणले भूकम्पका साथै यस क्षेत्र बाढी,पहिरो,आगलागी,डेंगु संक्रमणको जोखिम समेत उत्तिकै रहकाले पूर्व घटना अभ्यासमा यी क्षेत्रमा समेत गरिनुपर्ने बताउनुभयो । उहाँले बाढी,पहिरो,डुबानका साथै आगलागीका घटनाबाट यस क्षेत्रमा ठुलो जनधनको क्षति भएकाले त्यस्ता घटनाबाट जनधनको सुरक्षा गर्नका लागि कृत्रिम अभ्यास अनिवार्य रहेको बताउनुभयो । उहाँले २०७९ असोज महिनामा आएको बाढीका कारण बाढी पहिरो र डुबानका कारण बस्ती जोखिममा पुगेको बताउनुभयो ।
नेपाल सरकार गृहमन्त्रालयको आयोजनामा मंगलबार विपद् पूर्व तयारी प्रतिकार्य सम्बन्धी कृत्रिम घटना अभ्यास सञ्चालनका लागि छलफल गरिएको छ । उक्त अभ्यास २०८० वैशाख महिनामा पालिकाका जनप्रतिनिधि,संघसंस्थाहरुका बीच आयोजना गर्न थालिएको हो । सोही अवसरमा १९ वटै वडामा कर्लेक्स फोन समेत वितरण गरिने भएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनमगरले यस क्षेत्रमा विगतमा बाढी पहिरोका कारण सबै सडक अवरुद्ध भएको र त्यसबाट आवतजावतमा समस्या देखिएको बताउनुभयो । कार्यक्रममा विपद् प्रतिकार्यमा संलग्न रहने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गृहमन्त्रालयका दीपककुमार आचार्यको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । तुलसीपुर उपमहानगरपालिकाका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सूचना प्रविधि शाखाका प्रमुख बाबुराम न्यौपानेले गर्नुभएको थियो ।

Comments